डोटीमा मिटर र सर्भिस तार जडानबाफत रकम असुल्दै विद्युत कर्मचारी ! रकम लिएको पाईए कार्वाही गरिन्छ – प्रजिअ जोशी

Image
Nisarga Hospital

झलक पाली/प्रेम नेपाली / डोटीः डोटीमा नेपाल विद्युत प्राधिकरण कार्यालयका कर्मचारीले सेवाग्राहीसँग आफुखुशी रकम असुल्ने गरेको पाईएको छ । आदर्श गाउँपालिकाको मौवामा रहेको प्राधिकरणकोे सव स्टेशनका कर्मचारी भोज साउँदले घरमा नयाँ मिटर र नयाँ सर्भिस तार जोडेबाफत प्रति परिवार एक हजार रुपैयाँ उठाएको पाएईको हो ।

CP Hospital Dhangadhi

जिल्लाको सायल गाउँपालिका वडा नम्बर –१ छपालिमा भर्खरै हुन लागेको विद्युत विस्तारका क्रममा साउँदले स्थानीय बासिन्दासँग रकम असुलेको स्थानीयले गुनासो गरेका छन् ।

साउँदले दुइ वटा कुटानी पिसानी मिलबाट पनि रकम उठाएका छन् । जसमध्ये एउटाबाट ५ हजार र अर्कोबाट ४ हजार रकम लिएको पाईएको हो । समाचार श्रोतका अनुसार स्वयं जनप्रतिनिधीबाट पनि रकम लिईएको छ ।

nawajiwan

सायलको वडा नं. १ को कार्यालयले अहिलेसम्म १ सय १५ परिवारलाई विद्युत प्राधिकरणबाट नयाँ मिटर लिनको लागि सिफारिस दिएको देखिन्छ । यिनै सिफारिसको आधारमा हिसाब गर्दा प्रति परिवार १ हजारका दरले मात्रै जोड्ने हो भने पनि एक लाखभन्दा बढी उठाई सकेको देखिन्छ ।

विद्युत लाइन जोड्दा मिटर र सर्भिस तार जोडेबाफत रकम दिनुपर्छ भनेपछी आफुहरुले दिनै पर्ने रकम होला भनेर दिएको स्थानीयले बताएका छन् । हामीलाई थाहा भएन । भर्खरै गाउँमा विद्युत पुग्न थालेको र आफुलाई थाहा नपाएर दिएको उनिहरु बताउँछन् । यदि कार्यालयलाई तिर्नु नपर्ने रकम हो भने विद्युतका कर्मचारी साउँदले उठाएको पैसा फिर्ता दिनुपर्ने स्थानीयको भनाइ छ ।

Attariya Hospital

यस विषयमा सायल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लाल बहादुर रोकायालाई बुझ्दा वडामा सिफारिस बाहेक अरु आधिकारिक जानकारी नभएको बताए । यद्यपी बाहिर रकम असुली गरेको हल्ला आफुले पनि सुनेको र यदि सो कुरा सत्य भएमा प्रक्रिया विपरित कार्य नगर्न आग्रह गरेका छन् ।

यस विषयमा सम्बन्धित कर्मचारी साउँदलाई मोबाइल नं.९८६४६०६१०२ मा सम्पर्क गर्दा कुनै कुनै सेवाग्राहीले खुशीले दिएको रकम आफुले लिएको स्विकारेका छन् ।

नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका प्रमूख शिव शंकर शोनीले यस विषयमा मातहतका कर्मचारीहरुलाई सचेत गराईसकेको र रकम लिएको भए सम्बन्धितलाई फिर्ता गर्न भनिसकेको जवाफ दिए । उनले भने–‘विद्युतका कर्मचारीले मिटर र सर्भिस तार जडान गरेवाफत रकम लिएको भन्ने गुनासो मैले पनि सुनें । सुन्ने बित्तिकै मातहतका कर्मचारीलाई सम्पर्क गरी सचेत गराईसकेको छु । रकम लिएको भए सम्बन्तिलाई फिर्ता गर्न भनिसकेको छु । रकम लिएको भएमा यस विषयमा कार्यालय जिम्मेवार नभएर स्वयं कर्मचारी जिम्मेवार हुनेछन् ।’

यस विषयमा हामीले डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीलाई बुझ्दा गुनासो सुन्ने बित्तिकै नेपाल विद्युत प्राधिकरण कार्यालय प्रमूखलाई आफुले आवश्यक निर्देशन गरिसकेको र अतिरिक्त रकम लिएको पाईएमा कार्वाही हुने प्रतिबद्धता जनाएका छन् ।