मल्ल, भट्ट र बोहराको रगतले जोगियो कलावतीको ज्यान, प्रजिअ जोशी र वडा अध्यक्ष मलासीको प्रशंसनीय पहल

Image
Nisarga Hospital

डोटी: डोटीको पूर्वीचौकी गाउँपालिका १ का अन्दाजी वर्ष ६० का नर बहादुर लुहारकी श्रीमती अन्दाजी वर्ष ६० कै कलावती बि.क.लाई हिजो आइतबार बेलुकी करिब ५ बजेतिर जिल्ला अस्पताल पुर्याईयो । करिब एक हप्तादेखि बिरामी कलावतीलाई अस्पताल पुर्याउँदा अचेत जस्तै थिइन् । कलावतीका श्रीमानका अनुसार पेट दुख्ने, पखाला चल्ने, हातखुट्टा गल्ने समस्या उनमा थियो ।

CP Hospital Dhangadhi

जिल्ला अस्पतालको आकस्मिक कक्षमा उनको स्वास्थ्य जाँच गर्दा कलावतीको शरीरमा केवल ३ पिन्ट मात्रै रगतको मात्रा रहेको पाईएको अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट योगेन्द्र कुञ्जेडाले बताए । कुञ्जेडाका अनुसार उनको उमेर र स्वास्थ्य अवस्था अनुसार कम्तिमा ८ पिन्ट रगत शरीरमा हुनुपर्ने थियो । कलावतीको रगत जाँच गर्दा ‘ओ–नेगेटिभ’ रगत ग्रुप थियो । त्यसलगत्तै स्वास्थ्यकर्मी कुञ्जेडाले रगतको खोजिका लागि सम्भावित विभिन्न व्यक्तिहरुसँग समन्वय गरे । यसै क्रममा उनले दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीलाई सम्पर्क गरे । वडा अध्यक्ष मलासीले पनि विभिन्न व्यक्तिलाई सम्पर्क समन्वय गरे तर उक्त ब्लड समूहका व्यक्ति भेटाउन सकेनन् । राती करिब १० बजेभन्दा पछाडी वडा अध्यक्ष मलासीले डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीलाई नै फोन गरेर समस्या दर्शाए ।

Attariya Hospital

nawajiwan

तत्पश्चात प्रजिअ जोशीले रगत खोजी गर्ने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा सम्पर्क गरे । आवश्यक परेको रगतको जोहो हुने भएपछि प्रजिअ जोशी राती आफै गाडी लगेर तालिम केन्द्र पुगे र त्यहाँका प्रहरी जवान पशुपति प्रकाश मल्ललाई जिल्ला अस्पतालमा ल्याएर एक पिन्ट रगत दान गरेको वडा अध्यक्ष नरेश मलासीले जानकारी दिए । जसले बिरामी कलावतीको प्राण जोगाउन पहिलो अमृत बन्यो । उनको शरीरमा रगतको निकै अभाव थियो । तसर्थ आज सोमबार बिहान डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमूख तथा उप–प्राध्यापक लोकराज भट्ट र नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य भरत बोहराले पनि एक/एक पिन्ट रगत दान गरे । यो समाचार तयार पार्दासम्म कलावतीलाई २ पिन्ट रगत चढाईएको जिल्ला अस्पताल डोटीले जनाएको छ । रगत चढाएको चार घण्टापछि थप स्वास्थ्य जाँच गरीने र स्वास्थ्य अवस्था बारे भन्न सकिने जिल्ला अस्पतालका डा.राजपती शाहले बताए । उनको शरीरमा के कति कारणले रगतको कमि भयो भनेर जाँच गर्न जिल्ला अस्पतालमा पर्याप्त प्रविधि नभएकाले त्यो भन्न नसकिने डाक्टर शाहले बताए । यद्यपी हिजोको तुलनामा बिरामी कलावतीको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए ।

यसरी प्रहरी जवान मल्ल, उप–प्राध्यापक भट्ट र नेता बोहराले गरेको रक्तदानले कलावतीको शरीर तङ्ग्रिदै गएको छ ।
जिल्ला अस्पतालको आकस्मिक उपचार कक्षमै बेड नं. ५ मा राखेर कलावतीको उपचार भैरहेको छ ।

कलावतीका श्रीमान नर बहादुर सोधेका सबै कुराहरु राम्रोसँग उत्तर दिन नसक्ने अवस्थाका छन् । उनीहरुले विवाह गरेको पनि करिब १५ वर्ष जति भएको नरबहादुर बताउँछन् । तर उनीहरुका सन्तान छैनन् । आफ्नो साहारा पनि कोहि नभएकाले पेट पाल्नै धौ धौ भएको नर बहादुर सुनाउँछन् । जसोतसो बास बस्ने घर कमजोर अवस्थाको घर भएको बताउने उनिहरुसँग थोरै जग्गाजमिन त छ तर कमाई गरेर खानसक्ने शारीरिक अवस्था भने देखिंदैन ।