
हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः बढिरहेको छ भने, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भागहरूमा मौसम सामान्यतः सफा रहेको छ।

महाशाखाका अनुसार आगामी दिनमा तापक्रम अझै बढ्ने सम्भावना रहेको छ। विशेषगरी मध्यम तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको अवस्था देखिएकोले जनस्वास्थ्य, कृषि र दैनिक जीवनमा प्रतिकूल असर पर्न सक्ने चेतावनी दिइएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले विशेषगरी गर्मीबाट हुने डिहाइड्रेशन, घामडढुंगा, बिरामीको अवस्था झनै बिग्रन सक्ने जोखिम लगायतका विषयमा सतर्क रहन र आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।































