पुटिनको धम्कीयुक्त शान्ति प्रस्ताव : वार्ताको नाममा दबाब?

Image
Nisarga Hospital

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्दै युद्ध अन्त्यको पहल पुनः अघि सारेका छन्। क्रेमलिनबाट आइतबार जारी वक्तव्यमा पुटिनले टर्कीको इस्तानबुलमा यही बिहीबार वार्ता गर्न किभलाई प्रस्ताव गरेका हुन्। उनले वार्ताका लागि कुनै पूर्वसर्त नराखिएको बताए पनि प्रस्तावको स्वर र समयले त्यसमा राजनीतिक दबाब झल्किन्छ।

CP Hospital Dhangadhi

पुटिनले वार्ताको वातावरण बनाउन टर्की राष्ट्रपति तयिप एर्दोगानसँग समन्वय भएको बताए। युक्रेनी नेतृत्वमाथि जनहितभन्दा व्यक्तिगत आकांक्षाबाट निर्देशित भएको आरोप लगाउँदै उनले निर्णय अब किभको हातमा रहेको भने। यद्यपि युक्रेनले पुटिनको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन।

रूसले शान्तिको पक्षमा रहेको प्रमाणका रूपमा इस्टर, दोस्रो विश्वयुद्धको विजय दिवस जस्ता अवसरमा गरिएको अस्थायी युद्धविरामको उल्लेख गरिएको छ। तर, ती युद्धविराम उल्लंघन गर्ने युक्रेन भएको आरोप पुटिनले दोहोर्‍याएका छन्।

nawajiwan
Attariya Hospital

मे महिनामै युक्रेनले रूसमाथि सयौं ड्रोन, मिसाइल र समुद्री ड्रोन आक्रमण गरेको पुटिनको दाबी छ। अर्कोतर्फ, अमेरिकाले साउदी अरबमा रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरे पनि ठोस नतिजा निस्किन सकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि दबाब दिँदै शान्ति वार्ता अघि बढाउन प्रयास गरिरहेका छन्। तर क्राइमियाको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अडानले सम्झौता पुनः जटिल बनाएको ट्रम्पको भनाइ छ।

यसबीच, अमेरिका र युक्रेनबीच खनिज सम्झौता भइसकेको छ, जसअनुसार संयुक्त लगानी कोषसमेत स्थापना भएको छ। युद्धको लम्बिँदो अवस्थाबीच शान्ति प्रस्तावको आडमा चलिरहेको कूटनीतिक खेल चर्कंदो देखिन्छ।