
पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सोमबार मुम्बई इन्डियनविरुद्ध भएको खेलमा पञ्जाबले ७ विकेटको शानदार जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो।

मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। उसका तर्फबाट सूर्यकुमार यादवले ३९ बलमा ५७ रन बनाए, जसमा ६ चौका र २ छक्का समावेश थियो। कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे।

१८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी छँदा ३ विकेटको क्षतिमा १८७ रन बनाउँदै लक्ष्य भेट्टायो। पञ्जाबको जितमा दोस्रो विकेटका लागि प्रियांश आर्य र जोस इङ्लिसबीच भएको १०९ रनको साझेदारी निर्णायक बन्यो। जोस इङ्लिसले ४२ बलमा ७३ रन बनाए भने प्रियांश आर्यले ३५ बलमा ६२ रनको योगदान दिए। दुबै ब्याटरलाई मुम्बईका माइकल सान्टनरले आउट गरे। जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिए।

यो जितसँगै पञ्जाबले पहिलो क्वालिफायरमा स्थान बनाएको छ भने मुम्बई इन्डियन इलिमिनेटर खेल्ने निश्चित भएको छ। लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बंगलोरबीच हुनेछ, जसको नतिजाले बाँकी क्वालिफायर समीकरण निर्धारण गर्नेछ।






























