
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियामा गम्भीर अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाका चारवटा निर्माणसम्बन्धी ठेक्काको बोलपत्र सूचना सार्वजनिक रूपमा लुकाउने नियतले मात्र एक-एक प्रति मात्र दैनिक पत्रिकामा प्रकाशन गरिएको प्रमाण फेला परेको हो।
सूचना गोप्य राखी ठेक्का मिलाउने षड्यन्त्र
प्रचलित सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिकमा पूर्ण रूपमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै, ती सूचना टार्गेटेड रूपमा सीमित मात्रामा मात्र प्रकाशित गरिएको देखिएको आयोगको ठहर छ। प्रेस काउन्सिल नेपालको प्रतिवेदन, सूचना अभिलेख, र पीडीएफ प्रमाणहरूबाट समेत सूचना अदृश्य गरिएको पुष्टि भएको आयोगले जनाएको छ।

यी छन् मुद्दा खेप्नुपर्ने पाँच अभियुक्त
सुरेन्द्रकुमार यादव – तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
शत्रोहन दास – तत्कालीन सहलेखापाल
भूषणकुमार सिंह – टाइम्स रिपब्लिक मिडिया संस्थापक

रवि अर्याल – डच मिडिया निर्देशक
कृष्णबहादुर कार्की – प्रभाव दैनिकका सञ्चालक
उनीहरूविरुद्ध रु ३ लाख १६ हजार ४ सय बराबरको बिगो र कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायरको पुष्टि
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, ठेक्काको सूचना जानाजान जनचासोबाट टाढा राख्ने नियतले मात्र एक-एक प्रति मात्रै प्रकाशित गरिएको स्पष्ट प्रमाण भेटिएको छ। उनले थपे, “यसले प्रतिस्पर्धा नहुने गरी मिलेमतोमा ठेक्का बाँड्ने नियोजित प्रयास प्रस्ट देखिन्छ।”
सार्वजनिक सेवा र कानुनी प्रक्रिया माथिको हस्तक्षेप असह्यः आयोग
सार्वजनिक सूचना वितरण प्रक्रिया भ्रष्ट अभ्यासमार्फत तोडिएको, स्थानीय निकायहरूमा अझै पनि सूचना प्रबाह र पारदर्शितामा गम्भीर बेथिति रहेको आयोगले औंल्याएको छ।































