अमेरिकामा आप्रवासी आक्रोश विस्फोट: राष्ट्रपतिको कडा रणनीतिविरुद्ध सडकमा जनसागर

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूद्वारा छेडिएको विरोध आन्दोलन तीव्र बन्दै गएको छ। लस एन्जलसबाट सुरु भएको यो जनप्रदर्शनको लहर अहिले न्युयोर्क, सान फ्रान्सिस्को हुँदै देशका प्रमुख शहरहरूमा फैलिएको छ। न्युयोर्कमा त आइसिई (ICE) कार्यालयमै प्रदर्शनकारीहरू एकत्रित हुँदै प्रशासनविरुद्ध सशक्त आवाज बुलन्द गरिरहेका छन्।

CP Hospital Dhangadhi

उनीहरूको असन्तुष्टि केवल ट्रम्प प्रशासनको आप्रवासी नीतिप्रति मात्र सीमित छैन, आइसिई कार्यालयलाई नै न्यूयोर्कबाट हटाउनुपर्ने मागसमेत उठेको छ। लस एन्जलसमा सुरुआत भएको यो अभियान अहिले राष्ट्रिय स्तरको आन्दोलनको रूप लिन थालेको छ।

सान फ्रान्सिस्कोमा पनि प्रदर्शन उग्र बन्दै गएको छ। विरोधका कारण त्यहाँको अदालत दिउँसो १ बजे नै बन्द गर्नुपर्‍यो भने प्रमुख राजमार्ग १०१ का लेनहरू प्रदर्शनकारीद्वारा अवरुद्ध गरिएका छन्। यो तीन दिनभित्र यातायात प्रभावित भएको दोस्रो पटक हो, जसले प्रशासनलाई थप दबाबमा ल्याएको छ।

nawajiwan
Attariya Hospital

धरपकड नियन्त्रणका नाममा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र नौसैनिक बल प्रयोग गरेपछि स्थितिलाई थप जटिल बनाएको छ। यस कदमले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र लस एन्जलसकी मेयर कारेन बासलाई असन्तुष्ट तुल्याएको छ।

मेयर बासले संघीय हस्तक्षेपबारे स्थानीय प्रशासनलाई जानकारी नदिइएको भन्दै तीव्र असहमति व्यक्त गरेकी छिन्। उनले स्थिति चर्किन नदिन पूर्व सावधानीस्वरूप कर्फ्युको चेतावनीसमेत दिएकी छन्। साथै, प्रदर्शनको हिंसात्मक दमन नगर्न उनले प्रहरी प्रमुखसँग प्रत्यक्ष वार्ता गरेकी छिन्।

यसैबीच, गभर्नर न्यूसमले ट्रम्प प्रशासनविरुद्ध न्यायालयमा मुद्दा दायर गरिसकेका छन्। तर, संघीय अदालतले आइसिईद्वारा भइरहेको धरपकड रोक्नका लागि गरिएको उनको निवेदन अस्वीकार गरिदिएको छ, जसले आन्दोलित पक्षलाई थप झस्काएको छ।