
बैतडी:बैतडीको सिगास गाउँपालिकालाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज सिगास गाउँपालिकास्तरीय खोप समन्वय समितिले गाउँपालिका लाई औपचारिक रूपमा “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका”घोषणा गरेको हो।

“पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा कार्यक्रममा सिगास गाउँपालिका अध्यक्ष हरि सिह धामी, उपाध्यक्ष धाना धामी,९ वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, पालिकाको बिभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मी तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेपछि सिगास गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको निमित्त स्वास्थ्य शाखा प्रमुख भीम सिंह ऐेर जानकारी दिनुभयो ।
उहाँका अनुुसार यसअघि सिगास गाउँपालिकाका ९ वटै वडाहरू लाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको बताउनुभयो । सिगास गाउँपालिका “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा कार्यक्रममा ० देखि ५९ महिनासम्मका १ हजार ८७ जना बालबालिकाहरुलाई खोप दिइएको विवरण प्रस्तुत गरिएको थियो । पालिकाका अनुसार बालबालिकालाई १३ वटा रोगविरुद्ध खोप प्रदान गरिदै आएको छ।
सिगास गाउँपालिकालाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा गर्न उल्लेखनीय योगदान पुर्याउने सिगास गाउँपालिकाका ११ वटा स्वास्थ्य संस्थालाई आजको कार्यक्रममा सम्मान गरिएको निमित्त स्वास्थ्य शाखा प्रमुख ऐरले जानकारी दिनुभयो ।


































