
कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेल्धुरा निवासी कैदीबन्दी हरिश सिंह पालीको मृत्यु भएपछि डडेल्धुरा बजारमा तनाव उत्पन्न भएको छ। पालीको मृत्युप्रति असन्तुष्टि जनाउँदै स्थानीयले बजार बन्दसहितको आन्दोलन सुरु गरेका छन्।

२८ वर्षीय पाली डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी हुन्। बैंकिङ कसुरमा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनलाई असार २ गते बिहान अकस्मात् बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। बिहान ११ बजे भर्ना गरिएका पालीको उपचारकै क्रममा मृत्यु भएको कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।
हाल पालीको शव सेती अस्पतालको शवगृहमा राखिएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




मृत्युलाई शंकास्पद भन्दै डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार बिहानैदेखि बजार, यातायात र अन्य सेवा पूर्ण रूपमा बन्द गरिएको छ। आन्दोलनकारीले निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय, र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। संघले सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।



































