
नेपालमै पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला मंगलबारदेखि सुरु भएको छ। ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा दुई दिनसम्म चल्ने उक्त मेला शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग र स्विस सरकारको विकास सहयोग कार्यक्रम (SDC) अन्तर्गतको स्थानीय सडक पुल सहयोग इकाई (LRBSU) को संयुक्त आयोजनामा भइरहेको हो।

उद्घाटन समारोहमा शहरी विकास मन्त्रालयका सहसचिव गणेशप्रसाद वस्तीको अध्यक्षता र नेपालका लागि स्विस राजदूत डा. डेनियल म्युलीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार सचिव, सडक विभाग, निर्माण व्यवसायी, इञ्जिनियर, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

राजदूत म्युलीले २०११ देखि सुरु भएको द्विपक्षीय सहकार्यले हालसम्म ८ सयभन्दा बढी मोटरेबल पक्की पुलहरूको निर्माण सम्पन्न गरेको जानकारी दिँदै, प्रदर्शनीले सहकार्यको सफल यात्रालाई थप सार्थक बनाउने विश्वास व्यक्त गरिन्। उनले यस सहकार्यलाई “विकासको मूर्त रूप”को रूपमा उल्लेख गरिन्।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार सचिव भीमार्जुन पाण्डेले सहकार्यको अन्तिम वर्षमा आइपुगेको यो मेला उपलब्धि, चुनौती र सिकाइ प्रस्तुत गर्ने थलो भएको बताए। उनले जलवायु परिवर्तनको प्रभाव, डिजाइनमा आएको रूपान्तरण र संकलित अनुभवले प्रदर्शनीलाई शैक्षिक र व्यावसायिक रूपमा उपयोगी बनाएको उल्लेख गरे।

इकाई प्रमुख शकिल मानन्धरले मेलामा नवीनतम प्रविधि, डिजाइन मोडेल, डकुमेन्टरी, र फोटो प्रदर्शनी समावेश गरिएको जानकारी दिए। स्थानीय पूर्वाधार विभागका पुल शाखा प्रमुख भरत कुमार यादवले प्रदर्शनी भावी इञ्जिनियर, विद्यार्थी र नीति निर्माता सबैका लागि महत्वपूर्ण सिकाइको माध्यम हुने बताए।
जय विष्णु निर्माण सेवा प्रालिका एमडी अनिल सिलवालले प्रदर्शनीले “पुल कसरी बन्छ?” भन्ने आम चासोको उत्तर दिने मात्र होइन, व्यावसायिक ज्ञान हासिल गर्न चाहनेका लागि उपयोगी प्लेटफर्म बन्ने बताए।
प्रदर्शनी बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला रहने जानकारी इञ्जिनियर हरिशंकर जोशीले दिए। आयोजकले सबैलाई सहभागी भई सुझाव र अनुभव साट्न आह्वान गरेको छ।






























