बैतडीमा हावाहुरीले मकैबालीमा ठूलो क्षति, किसान चिन्तित

Image
Nisarga Hospital

बैतडीः मंगलबार राति परेको अविरल वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ। घोगा लाग्नै लागेको अवस्थामा मकैबाली ढलेर नष्ट भएपछि किसान चिन्तित बनेका छन्।

CP Hospital Dhangadhi

विशेषगरी सुर्नया गाउँपालिका–८ का ढोले, कठमडा, सेला र दोरा क्षेत्रका खेतबारीमा मकै बोट ढलेको छ। स्थानीय रामबहादुर साउँदका अनुसार ती टोलमा रहेका करिब एक हजार घरधुरी सबैको मकैबालीमा क्षति पुगेको छ। “समयमै हुर्किएको मकै ढलेपछि अब उत्पादनको आशामा ठूलो धक्का लागेको छ,” साउँदले बताए।

त्यस्तै दशरथचन्द नगरपालिका–१ का विभिन्न बस्तीतर्फ पनि वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेको किसानहरू बताउँछन्। बैतडीको मकै उत्पादनका लागि महत्वपूर्ण मानिने क्षेत्रमै यस्तो क्षति भएपछि उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

बैतडी जिल्लामा हाल करिब १३ हजार हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ। पछिल्ला वर्षहरूमा असिना, कीरा र बाढीपहिरोजस्ता कारणले गर्दा मकैबालीमा बारम्बार क्षति हुँदै आएको थियो। यसपटक हावाहुरीको मारले थप समस्या थपिएको छ।

प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा यसरी बारम्बार प्राकृतिक प्रकोप आउँदा किसानहरू आर्थिक समस्यामा पर्ने गरेका छन्। स्थानीय सरकार र कृषि निकायबाट क्षतिको मूल्यांकन र राहतको माग समेत उठ्न थालेको छ।