बैतडीका मतदाता, तर मालपोत तिर्न डडेलधुरा धाउनुपर्ने बाध्यता

Image
Nisarga Hospital

बैतडीको मेलौली नगरपालिका–८ स्थित विशालपुर क्षेत्रका पाँच सयभन्दा बढी घरधुरी दशकौँदेखि मालपोत तिर्न डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–३ स्थित कार्यालय धाउन बाध्य छन्।

CP Hospital Dhangadhi

तत्कालीन विशालपुर गाविसका वडा नं. ३, ४, ५ र ६ हाल मेलौली नगरपालिका–८ मा गाभिए पनि स्रेस्ता डडेलधुरामै रहेकाले मालपोत करदेखि चारकिल्ला प्रमाणित गर्नसमेत समस्या हुँदै आएको वडा अध्यक्ष तपेन्द्र विष्टले जानकारी दिए।

स्थानीयवासीहरूका अनुसार उनीहरूको मतदाता नामावली बैतडीमै छ र चुनावमा सधैं बैतडीका उम्मेदवारलाई भोट हाल्ने गरेका छन्। तर, जग्गाको कारोबार, कर तिर्न, कृषि फर्म दर्ता गर्न जस्ता कामका लागि डडेलधुरा जानुपर्ने बाध्यता अझै कायम छ।

nawajiwan
Attariya Hospital

उक्त समस्याको समाधान खोज्दै स्थानीय पीडितहरू प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद शिवराज भट्टलाई साथमा लिएर काठमाडौँ पुगेका छन्। उनीहरूले गृह मन्त्री रमेश लेखक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाएका छन्।

बैतडीकै भूगोलमा रहेका चार वडाका जग्गाको मालपोत स्रेस्ता पनि बैतडीमै सार्नुपर्ने स्थानीयको माग छ।

स्थानीय युवा महेशदत्त भट्टले भने, “२०३२ सालमा विशालपुरसहित तल्लोस्वराडका १३ गाविस बैतडीमा गाभिए पनि मालपोतको स्रेस्ता डडेलधुरामै छुटेका कारण हामी अझैसम्म सास्ती भोग्दै आएका छौं।”