
डडेल्धुराः करिब ४० भन्दा बढी परिवार बसोबास गर्ने अजयमेरु गाउँपालिका–४ अन्तर्गतको पसेलागाउँमा अहिले जम्मा १२ परिवार मात्र बाँकी रहेका छन्।

गाउँमा विद्युत्, खानेपानी, कच्ची सडक, नजिकैको चिपुरमा माध्यमिक विद्यालय र स्वास्थ्य चौकीजस्ता आधारभूत सुविधा सहजै उपलब्ध भए पनि बसाइँसराइका कारण गाउँ सुनसान हुँदै गएको हो।
पसेलागाउँ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको पुख्र्यौली गाउँ समेत हो। यहाँ सार्की, पाण्डेय र विष्ट समुदायको बसोबास हुँदै आएको छ। संघीयता लागू हुनुअघि चिपुर गाउँ विकास समितिको वडा नं. ७ अन्तर्गत पसेलागाउँमा २०७० सालतिर करिब पाँच सय जनसंख्या र ९६ मतदाता रहेका थिए। तर अहिले जनसंख्या घटेर करिब एक सय मात्र रहेको स्थानीयको भनाइ छ।


७१ वर्षीया कलावती विष्ट अहिले कान्छो छोरासँग गाउँमै बस्छिन् भने उनका श्रीमान्, जेठो छोरा–बुहारी र नाति भने कञ्चनपुरको लालपुरमा बस्दै आएका छन्। “पहाडमा काम गर्न सजिलो छैन, त्यसैले धेरैजना तराईतिर सरेका छन्,” उनले भनिन्।
स्थानीय टीकाराम पाण्डेयका अनुसार जमिनको खण्डित बाँडफाँट बसाइँसराइ बढ्ने प्रमुख कारण हो। “एक बुवाका पाँच छोरामा पाँच रोपनी जमिन बाँड्दा ससानो भाग पर्छ। खेत, करेसा, घाँसको जमिन छुट्ट्याउँदा काम गर्ने बोझ बढ्छ। त्यसैले सबैको रोजाइमा तराई पर्यो,” उनले बताए।
हाल बाँकी रहेका केही परिवार पनि निकट भविष्यमा बसाइँसराइ गर्ने तयारीमा रहेको जनाइएको छ। यद्यपि, कुलदेवताको पूजाआजा र गौरा पर्वका बेला भने गाउँ छोडेर गएका अधिकांश परिवार थातथलो फर्किने गरेका छन्।
































