
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गरिएको छ। नेपाल टेलिकम र एनसेलले प्राधिकरणको पत्र प्राप्त गरेपछि आफ्ना नेटवर्कमार्फत ती प्लेटफर्म बन्द गरेका हुन्।

नेपाल टेलिकमले एक सूचनामार्फत सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गर्न आदेश आएकाले सोही अनुसार हालका लागि सेवा अवरुद्ध गरिएको जनाएको छ। प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको मन्त्रिस्तरीय निर्देशनअनुसार यो कदम चालिएको टेलिकमले स्पष्ट पारेको छ।

यस्तै, एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको जानकारी दिएको छ।

प्राधिकरणले बिहीबार पत्राचार गर्दै २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। त्यसमा फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका लोकप्रिय प्लेटफर्मसमेत समावेश छन्।































