
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई महत्वपूर्ण विधेयक एक वर्षदेखि अघि नबढाइँदा अलपत्र परेका छन्। टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयक र बडघर/भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक दुवै सचिवालयमै थन्किएको अवस्था छ।

टीकापुर विश्वविद्यालयसम्बन्धी विधेयक २०८१ चैत ३ गते र बडघर/भलमनसा प्रथा सम्बन्धी विधेयक २०८२ जेठ २१ गते प्रदेश सभा सचिवालयमा दर्ता भएका थिए। दुवै विधेयक दर्ता भएको लामो समय बितिसक्दा पनि सदनमा प्रस्तुत हुन नसक्दा छलफल प्रक्रिया अगाडि बढ्न सकेको छैन। यसअघि पनि बिजनेस अभावको समस्या भोग्दै आएको प्रदेश सभामा यी विधेयकको ढिलाइले थप प्रश्न उठाएको छ।

विधेयक अगाडि नबढाइएकोप्रति सत्तारूढ नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको दलको बैठकले सभामुख भीमबहादुर भण्डारीलाई दुवै विधेयक अविलम्ब सदनमा पेस गर्न आग्रह गर्ने निर्णय गरेको हो।

संसदीय दलले विधेयक समयमै छलफलमा नआउँदा संसद्को कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै प्रक्रिया अघि बढाउन जोड दिएको छ। प्रमुख सचेतक विक्रमसिंह धामीले विधेयक सदनमा पुगेपछि छलफल सहज हुने बताए। आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भने विधेयकहरू विचाराधीन अवस्थामा रहेको जानकारी दिएका छन्।































