
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरको छ। यसको प्रभावले कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली र अन्य स्थानमा आंशिक बदली देखिएको छ।

आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराईका थोरै स्थानहरूमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
































