
सरकारको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित हजारौँ Gen-Z युवाहरू नयाँ बानेश्वरमा संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। पर्खाल चढेर र मुख्य गेट नाघेर भित्र प्रवेश गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ।

प्रहरीले हवाइफायर र दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेर परिसरभित्र र बाहिर रहेका प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको छ। केही युवाहरू गार्ड हाउसको छतमा समेत पुगेका थिए।

पहिले प्रहरीको पानीको फोहोरा र अश्रुग्याँसले प्रदर्शनकारीलाई रोक्न नसकेको र उनीहरूले सबै ब्यारिकेड तोडेर गेटसम्म पुगेको बताइएको छ।

असुरक्षित र संवेदनशील अवस्था व्यवस्थापन गर्न काठमाडौँमा सोमबार अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारीले काठमाडौँ महानगरभित्र सबै भेला, जुलुस, प्रदर्शन र सभा–बैठक निषेध गरिएको कर्फ्यु आदेश जारी गरेका छन्।































