
एसिया कप सुपर फोरको अन्तिम खेल रोमाञ्चक सुपर ओभरसम्म पुगेको छ। भारत र श्रीलंकाबीच भएको खेलमा दुवै टोलीले समान २०२ रन बनाएपछि नतिजा सुपर ओभरबाट टुंगिएको हो। भारतले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०२ रन जोडेको थियो।

अभिषेक शर्माले ३१ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने तिलक वर्मा ४९ रनमा नटआउट रहे। जवाफी ब्याटिङमा श्रीलंकाले पनि पाँच विकेट गुमाउँदै समान २०२ रन बनाए। ओपनर पथुम निस्सान्काले ५८ बलमा सात चौका र छ छक्कासहित शानदार १०७ रनको शतक प्रहार गरे।

कुसल परेराले ३२ बलमा ५८ रन जोडे। खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको भिडन्तमा श्रीलंका दुई विकेट गुमाउँदै केवल दुई रन मात्र बनाउन सक्यो। भारतले भने तीन रनको लक्ष्य सजिलै पुरा गर्दै विजयी भयो। यससँगै अब आइतबार हुने फाइनलमा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त हुने भएको छ।
































