
युएईमा जारी युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई सहजै पूरा गर्यो । विजयी टिमका लागि ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अर्का ओपनर अकिम अगस्टेले अविजित ४१ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमै समेटियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रनको योगदान गरे । राम्रो सुरुवात गर्दै पावरप्लेमा ३७ रन बिना विकेट जोडेको नेपालले त्यसपछि थप ९० रनमै सबै विकेट गुमाएको हो ।

बलिङतर्फ वेस्ट इन्डिजका रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक–एक विकेट हात पारे ।

नेपालले पहिले दुई खेल जित्दै शृंखला जितिसकेको भए पनि अन्तिम खेलमा वेस्ट इन्डिज पूर्ण रूपमा हावी रह्यो ।






























