
दसैँ बिदापछि सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुचारु भएको छ। असोज १२ गतेपछि पहिलोपटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। यसअघि असोज १२ मा सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि २ हजार ८१० रुपैयाँबाट बढेर २ हजार ९३० रुपैयाँ पुगेको छ। मूल्य वृद्धिसँगै बजारमा सुनचाँदी खरिदबिक्रीमा हलचल देखिएको छ। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र चाँदी–सुनको बढ्दो मागले मूल्य वृद्धिमा प्रभाव पारेको हो।





























