
हेमन्त बाजे/ बनबेहडाः गौरीगंगा नगरपालिका–६, बनबेहडा बजारमा रहेको नेपाल टेलिकम टावरमा लामो समयदेखि नेटवर्क समस्या देखिएको छ। बत्ती गएपछि फोन सम्पर्क नहुने, कल आफैँ काटिने र इन्टरनेट तथा एसएमएस सेवा अवरुद्ध हुने समस्याले सेवाग्राही झेलिरहेका छन्।
स्थानीय प्रितम कुँवरका अनुसार मोबाइल नेटवर्कमा समस्या हुँदा दैनिक कार्य प्रभावित भएको छ। वडा कार्यालयसँगै रहेको टावरको समस्या चार–पाँच महिनादेखि जारी छ। युवा नेता हेमन्त राज जोशीले पटकपटक नेपाल टेलिकमको ध्यानाकर्षण गराए पनि समाधान भएको छैन।
हालै नेपाल टेलिकम सुदूर पश्चिम मान्चल क्षेत्रीय निर्देशनालय प्रमुख दबेन्द्र कुमार चौधरीसँग छलफल गरी समाधानका लागि छिटो काम अगाडि बढाइने आश्वासन दिइएको छ। वडा सचिव भक्तराज ओझाले पनि सेवाग्राहीले समस्या झेल्दै आएको बताए।
स्थानीय बस्तीहरू—चरिडाँडा, मोया र दैद्वारीमा समेत नेटवर्क समस्या देखा परेको छ। टेलिकमका वरिष्ठ इन्जिनियर प्रितम भट्टका अनुसार ब्याट्री समस्या रहेको र तिहार अघि प्राविधिक टोली पठाएर समाधान गरिनेछ।
