आठ दिनसम्म खोलिएन थलारा गाउँपालिकामा लगाइएको ताला

Image

रमेश बहादुर सिंह /बझाङः थलारा गाउँपालिका वडा नं ६ अन्तर्गत पर्ने सडिल गाउँका जेन्जि) युवाहरूले सडकको विषयलाई लिएर गाउँपालिकामा लगाएको ताला आठ दिन बितिसक्दा पनि नखुलेको छ। गाउँपालिकाको मुख्य ढोकामा ताला लगाइएपछि प्रशासनिक कार्यसमेत ठप्प बनेको छ।

सडिल गाउँका युवाहरूले पिखेतमा रोकिएको सडक तत्काल खोलिनुपर्ने माग गर्दै असोज २१ गते गाउँपालिकाको मुख्य ढोकामा ताला लगाएका थिए। ताला लगाउँदा उनीहरूले नाराबाजीसहित सामान्य तोडफोड समेत गरेका थिए।

nawajiwan

सडक निर्माणको विषयलाई लिएर सडिलका युवाहरू र गाउँपालिका बीच ‘पहिले सडक खोल्ने, त्यसपछि ताला खोल्ने’ सहमति भए पनि हालसम्म सडक नखुल्दा ताला खोल्ने विषय अन्योलमा परेको छ। पिखेतका स्थानीयहरूले बाटोको ट्र्याकमै असहमति जनाएपछि काम रोकिएको हो।

ठाडा–दुढ्गा जोड्ने उक्त सडक खण्डमा पिखेत गाउँतिर करिब १५० मिटर सडक निर्माण बाँकी रहेको गाउँपालिका स्रोतले जनाएको छ। यसअघि सडिलका युवाहरू र गाउँपालिका बीच झनना हुँदै मान्तोला–डाँडाखाली–मेन्टेलधारा जोड्ने वैकल्पिक ट्र्याक बनाउन सहमति भए पनि त्यस क्षेत्रका जग्गाधनीहरूले आपत्ति जनाएपछि काम रोकिएको हो।

पिखेत गाउँका केही बासिन्दाले सडक गाउँको बिच भएरै लैजानुपर्ने अडान लिएका छन् भने घरधनीहरूले बस्ती नछोई वैकल्पिक बाटो खोज्नुपर्ने बताएका छन्। यस विषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रागराज उपाध्यायले पिखेत खण्डमा सडक निर्माण अझै अवरुद्ध भएकाले ताला खोल्न नसकिएको बताए।

Attariya Hospital

उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं ६ का अध्यक्ष अनिल बिष्टले पिखेतका स्थानीयहरूसँग निरन्तर छलफल गरिरहेका छन्। “हामीले वैकल्पिक ट्र्याकमार्गमा बाटो खोल्ने निर्णय गरेका थियौं, तर जग्गाधनीहरूले अवरोध गरेपछि सडक निर्माण रोकिएको छ,” उपाध्यायले बताए।

गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले पनि विवादका कारण काम प्रभावित भएको स्वीकार गरे। “गाउँको बिचबाटोमा केही घर पर्ने भएकाले जनताको असहमति थियो, त्यसपछि हामीले मान्तोला हुँदै वैकल्पिक ट्र्याकमा जेसीबी पठाएका थियौं, तर त्यहाँ पनि केहीले विरोध गरेपछि अब अर्को वैकल्पिक मार्गको खोजी भइरहेको छ,” अध्यक्ष रोकायाले बताए।

उनका अनुसार गाउँपालिकाको टोली अहिले स्थलगत अनुगमनमा छ र केही दिनभित्रै पिखेत–सडिल सडक खण्डको टुंगो लगाइने तयारी भइरहेको छ।

स्थानीयहरूले भने पिखेततर्फ बाटो नखुलेका कारण यातायातमा असुविधा भइरहेको बताएका छन्। झनना हुँदै पुग्दा १५ मिनेटमा पुगिने दुरी हाल वैकल्पिक बाटो प्रयोग गर्दा डेढ घण्टा लाग्ने गरेको उनीहरूको गुनासो छ।

सडक विवाद दीर्घकालीन रूपमा समाधान नभएसम्म गाउँपालिकाको ताला कहिले खुल्ने भन्ने प्रश्न अझै अनिश्चित बनेको छ ‌