
कैलालीको धनगढी उपमहानगरपालिकाले दुई वर्ष तीन महिनामा ३ हजार ८५ भन्दा बढी सर्प उद्धार गरी वनजंगल नजिकै सुरक्षित ठाउँमा छाडेको छ। २०८० असारमा सुरु गरिएको यो कार्यक्रम उपमहानगरका १९ वटै वडामा सञ्चालन भइरहेको छ।

सर्प उद्धार तालिम प्राप्त नगर प्रहरी घरभित्र पसेका वा सार्वजनिक स्थानमा देखा पर्ने सर्पलाई तुरुन्त उद्धार गरी कम्तीमा ५ किलोमिटर टाढा वन क्षेत्र आसपास सुरक्षित स्थानमा छाड्छन्। उद्धारमा विषालु गोमन, करेत, भाइपर र धामन, पानी सर्प लगायतका प्रजातिहरू बढी देखिन्छन्। कमन कोब्रा, बल्याक कोब्रा र किंग कोब्रा पनि उद्धार गरिएका छन्। तीन अजिंगर सर्प शुक्लाफाँटा निकुञ्ज पठाइएको छ।
उपमहानगर प्रमुख गोपाल हमालका अनुसार, घरमा पुरुष नभएको अवस्थामा महिलाहरू सर्प देख्दा डराउँथे। उद्धार कार्यक्रमले यस्तो त्रास कम गरेको छ र नगरबासी सुरक्षित महसुस गरिरहेका छन्।
धनगढी उपमहानगरले प्रारम्भमा २५ जना नगर प्रहरीलाई बर्दिया र शुक्लाफाँटा निकुञ्जका प्राविधिकले तालिम दिएका थिए। हाल उपमहानगरमा ८५ जना नगर प्रहरी कार्यरत छन् र उनीहरू विपद्का घटनासहित सर्प उद्धारमा पनि खटिन्छन्। आवश्यक उपकरण र सवारीसाधन उपलब्ध भएकोले उद्धार कार्य सहज भइरहेको छ।
यसै क्रममा, कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि हालै सर्प उद्धार कार्यक्रम सुरु गरेको छ। धनगढी उपमहानगरको यस पहलले तराई क्षेत्रमा सर्पदंशबाट हुने जोखिम घटाउन र नगरबासीलाई सुरक्षित वातावरण प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।



























