कैलालीको गोदावरीमा ८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा ८ हजार बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। सरकारले देशभर सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ‘ए’ वितरण अभियानअन्तर्गत गोदावरी नगरपालिकामा पनि यो कार्यक्रम सुरु गरिएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार गोदावरीका १०७ केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत औषधि खुवाउने व्यवस्था गरिएको छ। उनले भने, “आज सबै केन्द्रमा वितरण हुनेछ, भोलि भने छुटेकालाई घरघरमै गएर खुवाइनेछ।”

सरकारले प्रत्येक वर्ष दुई चरणमा—वैशाख ६–७ र कात्तिक २–३ गते—भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यस वर्ष तिहार पर्व परेकाले मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार मिति सारिएको हो।

देशभर ७५३ स्थानीय तहमा झन्डै २८ लाख पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। यस अभियानका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि पनि खुवाइनेछ। बालबालिकाको पोषण र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।