
गृह मन्त्रालयले आइतबार सह-सचिव र उपसचिव गरी ५८ जना अधिकारीहरूको सरुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार अधिकांश जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओहरू हेरफेर गरिएको हो।

सरुवा सूचीअनुसार डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाइएको छ। उनको स्थानमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागकी कल्पना घिमिरे नेपाललाई डोटीको सीडीओ नियुक्त गरिएको छ। डोटीकै सहायक प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेलाई पनि सोही विभागमा सरुवा गरिएको छ।
इलाका प्रशासन कार्यालय टीकापुरका उपसचिव कृष्ण थापाको सरुवा जिल्ला प्रशासन कार्यालय बैतडीमा गरिएको छ भने उनका स्थानमा गृह मन्त्रालयका उपसचिव तारानाथ पनेरुलाई पठाइएको छ। यसैगरी अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई सुनसरीमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनशक्ति व्यवस्थापन सन्तुलित बनाउन र प्रशासनिक कार्यक्षमता बढाउने उद्देश्यले यो सरुवा निर्णय गरेको बताइएको छ।



























