२१ फागुनमा चुनाव हुनैपर्छ : अर्थमन्त्री खनाल

Image
Nisarga Hospital

धनगढी : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नव युवाले उठाएका माग सम्बोधन गर्न आगामि २१ फागुनमा तोकिएको प्रतिनिधि सभाको चुनाव हुनैपर्ने बताएका छन् ।

CP Hospital Dhangadhi

आइतबारदेखि धनगढीमा सुुरु भएको सुदूरपश्चिम महोत्सव–२०८२ को उद्घाटन गर्दै मन्त्री खनालले नव पुस्ताका युवाले चाहेको परिवर्तन संस्थागत गर्न तोकिएकै मितिमा चुनाव हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । कार्यक्रममा मन्त्री खनालले सम्बोधन गर्दै भने, ‘नव युवा पुस्ताले माग गरेको परिवर्तन संस्थागत गर्नका निमित्त फागुन २१ गते तोकिएको मितिमा निर्वाचन हुुनैपर्छ । मुलुकको परिवर्तन संस्थागत गर्न सबै लाग्यौँ भने चुनाव सफल हुन्छ,’ खनालले भने, ‘यो चुनावले असल शासन दिने नेतृत्व उत्पन्न गर्नसक्छ ।’

अगामी निर्वाचनबाट २३ र २४ भदौमा युवाहरुले उठाएका भ्रष्टाचार मुक्त, सदाचार युक्त र विधिमा आधारित असल शासन स्थापना गर्न सक्ने सरकार निर्माण गर्नका लागि भएपनि सबैले चुनावको वातावरण बनाउनतर्फ लाग्नुपर्ने समेत उनको भनाई थियो ।

nawajiwan

अर्थमन्त्री खनालले यसपटकको चुनाव इतिहासकै सबैभन्दा धेरै राजनीतिक दल सहभागी हुन लागेको बताउदै सरकारले पूर्ण सुरक्षाको प्रत्याभूती गराएर निर्वाचन सम्पन्न गर्ने दाबी पनि गरेका छन् । ‘नेपालको इतिहासमा यसपाली सबैभन्दा धेरै दलहरु निर्वाचनमा भाग लिनका निमित्त दर्ता भएका छन् । १३० दल जबकी यो भन्दा अगाडी तीन अंकमा दलहरु यसरी भाग लिन दर्ता भएका थिएनन्,’ उनले भने, ‘यसअघि जहिले पनि कतिपय दलले चुनाव बहिष्कार गर्थे। तर अहिले एउटै समूह पनि बहिष्कारमा छैन। यो सकारात्मक संकेत हो।’

भदौ २३–२४ का घटनापछि सुरक्षाबारे उठेका प्रश्नबारे खनालले सरकार चुनाव पूर्ण सुरक्षासहित सम्पन्न गर्न तयार रहेको बताए।
‘सुरक्षा एकतर्फी कुरा होइन। नागरिक, अरुले पनि आफ्नो भूमिकाबारे जिम्मेवार बन्नुपर्छ। राज्यले सुरक्षा निकायमार्फत आवश्यक सबै स्रोत–साधन जुटाइदिनेछ,’ उनले भने ।

Attariya Hospital

जेनजी आन्दोलनपछि निर्वाचन गराउने म्यान्डेट पाएर अहिलेको सरकार गठन भएकाले नव युवाले उठाएका माग सम्बोधन गर्न सक्ने अवस्थामा सरकार नरहेको उनी बताउँछन् । हरेक वर्ष २२ मंसिरदेखि २ पुससम्म सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको १९औँ संस्करको अर्थमन्त्री खनालले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका मुद्दा अघि सार्दै १९ वर्षअघि महोत्सवको सुरुवात भएको बताए ।

प्रदेशबासीले सुदूरपश्चिम महोत्सवलाई पर्वका रुपमा अवलम्बन गरेको भन्दै उनले प्रदेश आर्थिक समृद्धिसँगै मौलिक संस्कृति, परम्परागत र लोक संस्कृतीको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।

कैलाली उद्योग वाणिज्य संघले महोत्सवको माध्यमबाट उठान गर्दै आएका कतिपय माग अहिलेसम्म पूरा नभएको स्मरण गर्दै त्यसतर्फ राज्यका निकाय गम्भीर बन्नुपर्नेमा समेत उनले ध्यानाकर्षण गराएका छन् ।