
काठमाडौंः सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेल इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गर्नुभएको छ। मन्त्री खरेलको भ्रमणमा एनसेलका अध्यक्ष सतीश लाल आचार्य, सीईओ माइकल फोले र कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए।

अवलोकनपछि भएको बैठकमा एनसेलका नेतृत्वले मन्त्री खरेललाई कम्पनीको सेवा, अर्थतन्त्रमा योगदान र हालैको जेन जी आन्दोलनका कारण कम्पनीले भोग्नु परेको करिब ६५ करोड रुपैयाँ क्षतिको विवरण प्रस्तुत गरेका थिए। यस क्रममा काठमाडौंस्थित मुख्य कार्यालय तथा एनसेल आइकन संरचनामा गम्भीर नोक्सानी भएको थियो।
मन्त्री खरेलले एनसेलको दूरसञ्चार क्षेत्रमा योगदानको प्रशंसा गर्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कम्पनीलाई सगरमाथा क्षेत्र र ग्रामीण भेगमा गुणस्तरीय, किफायती सेवा विस्तार गर्न सुझाव दिनुभयो। “नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध छ, र हामीले लगानी प्रवद्र्धन गर्नुपर्छ। सरकार एनसेलसँग छ,” मन्त्री खरेलले भन्नुभयो।


बैठकमा विद्यार्थी लक्षित सामाजिक पहलको पनि चर्चा भयो। एनसेलले हरेक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्दै १ करोड रुपैयाँको कोष व्यवस्थापन गरेको छ। साथै, कम्पनीले जेन जी प्याक ल्याएर विद्यार्थीहरूलाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
एनसेलका सीईओ फोलेले कम्पनीको निरन्तर सेवा र डिजिटल नेपालको निर्माणमा योगदानको प्रतिबद्धता पुन: दोहोर्याए। कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जना गरेको छ र गत आर्थिक वर्ष २०८१/८२ सम्म कर तथा शुल्कमा झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ।
व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै सरकारका दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्दै आएको छ।
एनसेलको डेटा सेन्टर अवलोकनले सरकार र निजी क्षेत्रबीचको सहकार्य, डिजिटल नेपाल निर्माणमा दिगो योगदान र दूरसञ्चार क्षेत्रको विकासमा निरन्तर प्रतिबद्धता पुष्टि गरेको छ।

































