
धनगढी : नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले उम्मेदवार हुन इच्छुकलाई नाम दर्ता गराउन आह्वान गरेको छ । आज मंगलबार १० बजेदेखि २ बजेसम्म नाम दर्ता गराउन क्षेत्रीय समितिले सूचना जारी गर्दै आह्वान गरेको हो ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्नुपर्ने भएकाले नाम दर्ता गर्न आह्वान गरिएको नेपाली कांग्रेस क्षेत्रीय सभापति भीम पडालले बताए ।
‘नेपाली काँग्रेसको विधान अनुरुप तथा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तोकेको मापदण्डलाई समेत आधार मानी उम्मेदवारको योग्यता भएका नेता तथा कार्यकर्ताले तोकिएको समय सीमाभित्र नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालय धनगढीमा आई आफ्नो उम्मेदवारी सिफारिस दर्ता गरिसक्नु पर्ने व्यहोराका साथ यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

कांग्रेसभित्र हलचल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसभित्र राजनीतिक गतिविधि तीव्र रूपमा बढेको छ । विशेषगरी केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सो क्षेत्रबाट उम्मेदवार बन्ने सम्भावनाले कांग्रेसभित्र राजनीतिक गतिविधि तीव्र रूपमा बढेको हो ।

जेनजी आन्दोलन पश्चात् डा. राणा स्थानीय कार्यकर्ता, जनप्रतिनिधि र पार्टी नेतृत्वसँग निरन्तर सक्रिय देखिएकी छन् । यसले गर्दा उनीप्रति स्थानीय तहमा पछिल्लो समय सकारात्मक माहोल बन्दै गएको कांग्रेस स्रोतहरूले बताएका छन् ।
हालै कैलाली–५ का कांग्रेस सभापति भिम पडाल, सचिव बिजय जोशी, तथा धनगढी उपमहानगरपालिका कांग्रेस सभापति यज्ञराज उपाध्याय लगायत नेताहरूबीच भएको आन्तरिक परामर्शमा डा. राणाको नाम अग्रपंक्तिमा आएको बताइएको छ । त्यही बैठकपछि उनी क्षेत्रको राजनीतिक गतिविधिमा सक्रिय भइसकेको संकेत देखिएको स्रोतहरूको दाबी छ । कांग्रेस निकट स्रोतका अनुसार डा. राणाले धनगढीबाटै निर्वाचन लड्ने इच्छा स्पष्ट रूपमा व्यक्त गरिसकेकी छन् । यस आधारमा पार्टीले उनलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने सम्भावना पनि बलियो बन्दै गएको बताइन्छ ।
पूर्व परराष्ट्रमन्त्रीको हैसियतमा डा. आरजु राणाले कूटनीतिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् । अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने, नेपालको छवि विश्वमञ्चमा मजबुत बनाउने तथा विदेश नीति निर्माणमा सक्रिय योगदान दिएको कांग्रेस नेताहरूले स्मरण गरेका छन् । यही कारणले कैलाली–५ भित्र पनि उनको नेतृत्व क्षमतामाथि सकारात्मक बहस सुरु भएको पार्टी स्रोतको भनाइ छ ।
































