
सिगास: सिगास गाउँपालिकाको आर्थिक सहयोग तथा सिगास सञ्चार समुहको प्राविधिक सहयोगमा स्थापना गरिएको सामुदायिक रेडियो सिगास सन्देश ८९.८ मेगाहर्जको औपचारिक उद्घाटन कार्यक्रम शनिबार एक विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न भएको छ ।


उद्घाटन कार्यक्रमका सभाध्यक्ष रेडियो सिगास सन्देशका कार्यकारी निर्देशक पदम बहादुर साउद रहनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिका रूपमा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी सहभागी रहनुभएको थियो । त्यस्तै कार्यक्रममा बित्थचचिर गाउँपालिका अध्यक्ष अम्मर सिंह महर, बित्थचचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल, सिगास गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष अम्मर सिंह धामी, वडा नं. ९ का वडा अध्यक्ष कृष्ण सिंह धामी, साथै पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र बित्थचचिर गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
उद्घाटन समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरूका साथै विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यरत शिक्षक तथा कर्मचारी, नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडु, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गायक कलाकार, महिला तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
“परिवर्तनको सहयात्री : आवाज बिहीनहरूको आवाज” भन्ने मूल नाराका साथ स्थापित रेडियो सिगास सन्देश जेठ ८ गतेदेखि परीक्षण प्रशारणमा आएको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि हिजो औपचारिक उद्घाटन कार्यक्रमका बिच रेडियोले अब नियमित कार्यक्रमसहित औपचारिक प्रशारण सेवा सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले वर्तमान समयलाई सूचना तथा सञ्चार प्रविधिको युगका रूपमा व्याख्या गर्दै समुदायको शिक्षा, चेतना, सुशासन, विकास र सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो । उहाँहरूले रेडियो सिगास सन्देशले स्थानीय जनताको आवाज बुलन्द गर्ने, तथ्यपरक सूचना प्रवाह गर्ने र विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरूले रेडियो सिगास सन्देशको संस्थागत विकास, दिगोपन तथा गुणस्तरीय प्रशारणका लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । स्थानीय तह र सञ्चार क्षेत्रबीच सहकार्य बढाउँदै लैजाने विषयमा समेत उहाँहरुले जोड दिनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा रेडियो सिगास सन्देशका कार्यकारी निर्देशक पदम बहादुर साउदले रेडियो स्थापनाको अवधिदेखि हालसम्म निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सिगास गाउँपालिका, देश विदेशमा बसेर आर्थिक सहयोग गर्ने सहयाोगी दाताहरु, सिगास सञ्चार समुह, जनप्रतिनिधि, पत्रकार, कर्मचारी तथा सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले रेडियो सिगास सन्देशलाई जनताको साझा आवाजका रूपमा स्थापित गर्न सबै सरोकारवालाबाट निरन्तर सहयोग र साथको अपेक्षा समेत व्यक्त गर्नुभयो ।
































