मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धी परियोजनाको औपचारिक उद्घाटन

Image
Nisarga Hospital

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखरामा रहेको एनसेलको डाटा सेन्टरको अवलोकन गर्दै भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको औपचारिक उद्घाटन गरेका छन्। अत्याधुनिक सर्भरमार्फत भोल्टे तथा भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणाली स्विच अन गर्दै उनले परियोजनाको शुभारम्भ गरेका हुन्।

CP Hospital Dhangadhi

यो क्षमता अभिवृद्धीसँगै अब एनसेलले पोखरास्थित डाटा सेन्टरमार्फत करिब ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा प्रदान गर्न सक्ने भएको छ। दूरसञ्चार क्षेत्रमा भोल्टे आधुनिक प्रविधिका रूपमा परिचित छ, जसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) भ्वाइस कल, छिटो कनेक्ट हुने सुविधा र स्पष्ट आवाजको अनुभव प्रदान गर्दछ।

nawajiwan

त्यसैगरी, भोवाइफाइ प्रविधिमार्फत प्रयोगकर्ताले कुनै पनि स्थिर वाइफाइ नेटवर्कको प्रयोग गरी आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र कल रिसिभ गर्न सक्ने सुविधा पाउनेछन्। मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवन वा दुर्गम स्थानमा समेत वाइफाइ उपलब्ध भए सहज रूपमा सम्पर्क कायम राख्न यो सेवा प्रभावकारी हुने एनसेलले जनाएको छ।

Attariya Hospital

पोखरामा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाटका क्रममा मन्त्री खरेलले एनसेलको डिजास्टर रिकभरी सेन्टरका रूपमा सञ्चालन भइरहेको उक्त डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन्। एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए।

अवलोकनपछि मन्त्री खरेलले डिजिटल नेपाल निर्माणको लक्ष्यमा यस्ता प्रविधिमैत्री पूर्वाधारले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै पोखरा डाटा सेन्टरलाई डिजिटलाइजेसनका आधारभूत संरचनामध्ये एक भएको बताए। उनले डाटा सेन्टरको सञ्चालन, व्यवस्थापन र सुरक्षाप्रति प्रशंसा समेत गरे।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले सन् २०१२ मा स्थापना गरिएको यो डाटा सेन्टरले नेपालको दूरसञ्चार र सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताए। भोल्टे क्षमता अभिवृद्धीपछि अब आधुनिक सेवा अझ व्यापक रूपमा ग्राहकसम्म पुर्‍याउन सकिने उनको भनाइ छ।