
डोटीसहित सुदूरपश्चिमका जिल्लामा आज पुस १५ अर्थात पुषे पन्ध्र पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्ष जाडो मौसममा गाउँका सबै मानिसहरू एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने परम्परा यस दिनमा निर्वाह हुन्छ। विशेष गरी १५ हात लामो मुढाको आगो ताप्दै गाउँका बुढापाका, युवापुस्ता र बालबालिकाले गाउँको कथा–कथा सुनाउँदै रात काट्ने चलन छ।

यस अवसरमा स्थानीयहरूले तरुल, सखरखण्ड, फर्सी, पिँडालु जस्ता माटोमुनि उम्रिने चिजहरू उसिनेर खाने परम्परा छ। मान्यता अनुसार यी खानेकुरा खाएमा जाडो कम लाग्ने, शरीरमा स्फूर्ति र तागत बढ्ने विश्वास छ। यस दिन वनको पूजा गर्ने प्रचलन पनि छ। विशेषगरी वनमा प्रयोग हुने बञ्चरो, हँसिया, बनारो जस्ता साधनहरूलाई पूजाआजा गरी सम्मान गरिन्छ।

आजको दिन जंगलमा पाइने तरुल खनेर उसिनेर खाने चलनका कारण बजार क्षेत्रमा पनि तरुल किन्नेहरूको भीड लाग्ने गर्दछ। पूर्खौंदेखि पौराणिक कथाहरू एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण गर्दै पर्व मनाउने परम्परा कायम छ। यसरी पुस पन्ध्रको लामो रातलाई कतै कतै ‘कुनिकेउली’ खाने पर्वका रूपमा पनि मनाइन्छ।

पुसे पन्ध्र केवल खाद्य संस्कारमा मात्र सीमित छैन; यो पर्वले समुदायमा एकता, परम्परा र सांस्कृतिक पहिचानको अनुभूति जगाउँछ। गाउँलेहरू आगोको वरिपरि जम्मा भई कथा सुनाउने, गीत गाउने र वनपाक वस्तुको पूजा गर्ने क्रमले स्थानीय जीवनशैली र प्राकृतिक स्रोतप्रतिको सम्मानलाई झल्काउँछ। यसरी सुदूरपश्चिमका जनजीवनमा पुर्खौंदेखिको परम्परा र सांस्कृतिक धरोहरलाई जीवित राख्दै पुषे पन्ध्र पर्व हर्षोल्लासका साथ मनाइन्छ।































