
काठमाडौंः देशभर तीव्र, भरपर्दो र गुणस्तरीय डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने लक्ष्यसहित एनसेलले आफ्नो फोरजी नेटवर्क विस्तार तथा सुदृढीकरणलाई तीव्रता दिएको छ। कम्पनीले सन् २०२५ को अवधिमा २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ भने २,२०० वटा विद्यमान साइटहरूको क्षमता अभिवृद्धि गरेको छ। यस सुधारसँगै एनसेलका ग्राहकहरूले अझ स्पष्ट भ्वाइस सेवा र उच्च गतिको मोबाइल डेटा अनुभव गर्न पाउने भएका छन्।

डिजिटल युगमा कनेक्टिभिटी केवल सञ्चारको माध्यम मात्र नभई शिक्षा, स्वास्थ्य, व्यवसाय, सुरक्षा र सामाजिक सम्बन्धको आधार बन्दै गएको सन्दर्भमा एनसेलको यो पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना गरिएको छ भने विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशलाई प्राथमिकतामा राख्दै नेटवर्क विस्तार गरिएको हो।

प्रदेशगत विवरण हेर्दा कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौरमा फोरजी सेवा विस्तार गरिएको छ। सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत क्षेत्रमा पनि नयाँ टावर सञ्चालनमा आएका छन्। मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानमा नयाँ टावर जडान भएसँगै स्थानीयवासीहरू उच्च गुणस्तरको भ्वाइस तथा मोबाइल ब्रोडब्यान्ड सेवाबाट लाभान्वित भएका छन्।
जनकपुर उपमहानगरपालिका–१७, मनहरपुरकी बीबीए अध्ययनरत अनिशा मण्डल नयाँ टावर सञ्चालनबाट लाभ लिने हजारौं ग्राहकहरूमध्ये एक हुन्। उनी भन्छिन्, “अहिले त घरभित्रै पनि इन्टरनेट धेरै राम्रो चल्छ। पहिला भन्दा निकै सुधार भएको छ। पढाइका नोटिस हेर्न, नोट साटासाट गर्न, युट्युब र च्याटजीपीटीमार्फत नबुझेको कुरा सिक्न मोबाइल इन्टरनेट अत्यावश्यक भइसकेको छ। विदेशमा रहेका दाजुहरूसँग नियमित सम्पर्क गर्न पनि सजिलो भएको छ।”

एनसेलका अनुसार कुल २५० नयाँ टावरमध्ये १९७ वटा पछिल्लो साढे दुई महिनामै स्थापना गरिएका हुन्। बाँकी ५३ वटा टावर भने स्टक तथा स्पेयर उपकरणको अधिकतम उपयोग गरी सञ्चालनमा ल्याइएका हुन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट लामो समयपछि सहजीकरण भएपछि टावर स्थापना कार्यले गति लिएको कम्पनीको भनाइ छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटहरूले स्थानीय तहसम्म मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच विस्तार गरेका छन्। फोरजी कनेक्टिभिटी केवल गति होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँसँगको पहुँच हो।”
नयाँ टावर संख्याका आधारमा मधेश प्रदेशमा १०० भन्दा बढी, लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर स्थापना भएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि उल्लेख्य संख्यामा टावर थपिएका छन्।
एनसेलले जेठ २०७४ देखि फोरजी सेवा सुरु गरेको हो, जुन हाल ७७ वटै जिल्लामा विस्तार भइसकेको छ। कम्पनीका अनुसार कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा फोरजी सेवा पुगेको छ। आधुनिक प्रविधिमार्फत विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासहित एनसेलले आगामी दिनमा पनि नेटवर्क सुधार र विस्तारलाई निरन्तरता दिने जनाएको छ।



































