
सिँचाइ आयोजनामा नक्कली कागजात तयार पारेर सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ६ जनालाई दोषी ठहर गरेको छ। सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो। अदालतले अभियोग पुष्टि भएको ठहर गर्दै सबै प्रतिवादीलाई कैद र जरिवानाको सजाय सुनाएको हो।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि मुद्दा तेस्रो न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश गरिएको थियो। सिंहको दोषी ठहर गर्ने रायलाई श्रेष्ठले समर्थन गरेपछि बहुमतका आधारमा फैसला भएको अदालत स्रोतले जनाएको छ।
दोषी ठहर हुनेमा तत्कालीन गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष भिमबहादुर रोकाया, प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया रहेका छन्।
अदालतले सबैलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि विनियोजित १४ लाख ८ हजार रुपैयाँ काम नगरी भुक्तानी लिएको उजुरीपछि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।






























