
कैलालीको अत्तरियामा जारी करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगितामा अनुपमा अलराउन्डर्स फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान सम्पन्न पहिलो क्वालिफायर खेलमा गेटा रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै अनुपमाले उपाधि नजिकको यात्रा तय गरेको हो।

टस जितेर ब्याटिङ रोजेको गेटा रोयल्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनायो। गेटाका लागि निरज चन्दले ३१ रनको योगदान दिए भने विपिन चन्द र सन्तोष भट्टले समान २१–२१ रन बनाए। बलिङतर्फ अनुपमाका एकिन्द्र बहादुर बम र सरोज सुनारले २–२ विकेट लिए।

१३१ रनको लक्ष्य पछ्याएको अनुपमा अलराउन्डर्सले पनि २० ओभरमा ९ विकेटको क्षतिमा १३० रन मात्रै जोड्न सक्यो। प्रेम साउँद र सरोज सुनारले समान ३४–३४ रन बनाए। खेलको १५औं ओभरसम्म गेटा दबाबमा राख्न सफल भए पनि अन्तिम ओभरहरूमा अनुपमाले खेल बराबरीमा पुर्यायो।

सुपर ओभरमा अनुपमाले ८ रन बनायो। ९ रनको लक्ष्य पाएको गेटा रोयल्सका दुवै ब्याट्सम्यान शून्यमै आउट भएपछि अनुपमा पहिलो फाइनलिस्ट बन्यो। गेटा अब दोस्रो नकआउट खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ८ टोली सहभागी छन् र फाइनल खेल पौष २६ गते हुनेछ।































