“सम्झौता होइन, केवल विकास” : कैलाली–४ मा छत्र बहादुर भट्टको महत्वाकांक्षी एजेन्डा सार्वजनिक

Image
Nisarga Hospital

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले विकास–केन्द्रित महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेका छन्। ‘सम्झौता होइन, केवल विकास’ मूल नारासहित चुनावी मैदानमा उत्रिएका भट्टले आफू कुनै दलगत सेटलमेन्टको पक्षमा नभई स्पष्ट नीति, ठोस योजना र आर्थिक रोडम्यापका आधारमा अघि बढ्ने बताएका छन्।

CP Hospital Dhangadhi

निर्वाचन चिन्ह ‘आँपको दाना’ लिएर प्रतिस्पर्धामा रहेका उनले स्वास्थ्य, उद्योग/रोजगारी, शिक्षा/खेलकुद, पर्यटन, पूर्वाधार र कृषि गरी ६ प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। घोषणापत्रको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिँदै उनले कैलाली–४ मा क्यान्सर अस्पताल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिमबाट उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उनको लक्ष्य छ। साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि निःशुल्क उपचार, प्रत्येक वडामा महिनामा एक पटक विशेषज्ञसहित घुम्ती स्वास्थ्य सेवा तथा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

रोजगारी र आर्थिक विकासका लागि उनले एक हजार करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्र्याउने लक्ष्य राखेका छन्। कृषि, जडीबुटी, ऊर्जा र वनमा आधारित उद्योग स्थापना, ‘एक घर, एक रोजगारी’ अभियान सञ्चालन तथा अत्तरिया क्षेत्रमा पाँचतारे होटल निर्माणमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन गर्ने योजना उनले प्रस्तुत गरेका छन्।

nawajiwan
Attariya Hospital

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय स्तरोन्नति, कम्प्युटर ल्याब, उच्च क्षमताको इन्टरनेट, बहु–प्राविधिक सिप तालिम केन्द्र स्थापना र खेलमैदान तथा मल्टीपर्पज हल निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। साथै अन्तर्राष्ट्रिय स्तरको आविष्कार तथा एआई केन्द्र स्थापना गर्ने महत्त्वाकांक्षी योजना पनि सार्वजनिक गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि गोदावरी धामलाई प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने, ‘भिजिट सुदूरपश्चिम’ अभियान सञ्चालन गर्ने तथा गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाका रूपमा प्रवर्द्धन गर्ने योजना उनले अघि सारेका छन्।

पूर्वाधारतर्फ खुटिया, शिवगंगा र गोदावरी नदीमा तटबन्ध, ६ लेन सडक विस्तार, बसपार्क व्यवस्थापन र कृषि क्षेत्रमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गर्ने योजना रहेको छ। भट्टले आफ्नो घोषणापत्र व्यवहारिक, मापनयोग्य र कार्यान्वयनयोग्य रहेको दाबी गर्दै “दलको होइन, जनताको स्वतन्त्र आवाज आवश्यक छ” भन्ने सन्देश दिएका छन्।