
उज्यालो नेपाल पार्टीका उपाध्यक्ष, जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलले आज कैलालीको अत्तरियामा आयोजित चुनावी कार्यक्रममा भने कि जेनजी आन्दोलनले केही व्यक्तिको स्वार्थ मात्र पुरा गर्यो, वास्तविक मागहरु कहिल्यै पूरा भएनन्।

पोर्तेलले भने, “युवाहरु सडकमा उत्रेर भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा, रोजगारी र सुशासनको माग गर्दा यदि मुलुकमा केहि परिवर्तन हुन्छ भने युवा भएर मेरो जिम्मेवारी पनि हो। तर जेनजी आन्दोलनपछिका ६ महिनामा कुनै ठोस उपलब्धि देखिएन। भ्रष्टाचारीहरुको कारबाही भएन र मुलुकमा सुशासन कायम भएन। हामी जस्ता निश्वार्थ युवा अझै सडकमै खटिरहेका छौं।”


उनले देशको नेतृत्व गर्ने व्यक्तिहरु गलत भएका कारण हजारौं युवा विदेशिनु परेको बताए। चुनावमा ठूला सपना देखाउनेले जित्ने र इमान्दार व्यक्तिहरु छायामा पर्ने गरेको पोर्तेलले स्पष्ट पारे। पुराना भ्रष्टाचारीलाई हटाएर नयाँ भ्रष्टाचारीलाई ल्याउन जेनजी आन्दोलन प्रयोग भएको उनले जोड दिए।
पोर्तेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा फैलिएको भ्रम र लहरको आलोचना गर्दै, नयाँ नेतृत्व योग्य र काम गरेर प्रमाणित व्यक्ति हुनुपर्ने बताए। उनले उज्यालो नेपाल पार्टी साँचो जेनजीको पार्टी भएको पनि स्पष्ट पारे।
भदौ २३–२४ को मतदानमा विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै, समानुपातिक उम्मेदवार पोर्तेलले भ्रष्टाचारविरुद्ध, सुशासन र रोजगारी सुनिश्चित गर्ने वाचा गरे।
































