
असन्न प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। आज जारी गरिएको छ बुँदे निर्देशनमार्फत प्रशासनले शान्ति, सुरक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न उच्च सतर्कता अपनाउन भनेको छ।

निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सबै सरोकारवालालाई संयमता र सौहार्दपूर्ण वातावरण कायम राख्न अनुरोध गरिएको छ। सार्वजनिक स्थानमा अनधिकृत भीडभाड, होहल्ला, डिजे बजाउने, छरछिमेकमा असर गर्ने गतिविधि, जबरजस्ती र अमर्यादित व्यवहार पूर्णरूपमा निषेध गरिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने वा सुरक्षा कर्मचारीमा अवरोध पुर्याउने कार्यमा कडा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी को हस्ताक्षरमा जारी सूचनामा निर्वाचन र पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख छ।

































