
अत्तरियाः कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आनन्द बिष्टले चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा अब करिब आठ दिन मात्रै बाँकी रहँदा उनले गोदावरी नगरपालिका–२ मा घरदैलो कार्यक्रमलाई केन्द्रित गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। घर–घर पुगेर हातेमालो गर्ने, समस्या सुन्ने र समाधानको प्रतिबद्धता व्यक्त गर्ने उनको शैलीले यस क्षेत्रमा छुट्टै प्रभाव छोड्दै गएको स्थानीयहरू बताउँछन्।

घरदैलोका क्रममा बुद्धिजीवी, अग्रज, युवा तथा महिलाहरूले उम्मेदवार बिष्टलाई स्वागत गर्दै विजयको शुभकामना दिएका छन्। टोल–टोलमा देखिएको उत्साहपूर्ण सहभागिताले कैलाली–४ मा चुनावी माहोल थप ऊर्जा र आशावादले भरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार पछिल्ला दिनहरूमा गाउँ–गाउँमा ‘रुख’ प्रतीकप्रति आकर्षण बढ्दो छ, जसले कांग्रेसको पक्षमा सकारात्मक वातावरण निर्माण गरेको संकेत गर्छ।
यस अभियानमा क्षेत्रीय सभापति बसन्त रोकाया (ललित) को सक्रियता उल्लेखनीय देखिएको छ। उनीसँगै युवा परिचालनको कमाण्ड सम्हालेका कमल कडायत लगायतका नेताहरू निरन्तर मैदानमा खटिएका छन्। पार्टी संगठनको समन्वय, अनुशासन र रणनीतिक परिचालनका कारण चुनावी अभियान व्यवस्थित र प्रभावकारी रूपमा अघि बढिरहेको नेताहरूको दाबी छ। सभापति रोकायाका अनुसार जहाँ–जहाँ टोली पुगेको छ, त्यहाँ उत्साहजनक समर्थन देखिएको छ।
रोकायाले पार्टीप्रतिको प्रतिबद्धता दोहोर्याउँदै भने, “हामी बाँचुन्जेल पार्टीलाई बचाउने र जिताउने अभियानमा समर्पित छौँ।” उनले आनन्द बिष्टलाई मत दिनुपर्ने आधार स्पष्ट पार्दै देश–विदेशमा उनले गरेका सामाजिक कार्यलाई प्रमुख कारणका रूपमा उल्लेख गरे। भूकम्प, बाढी, पहिरो तथा महामारीजस्ता विपद्का समयमा आनन्द बिष्ट अग्रपङ्क्तिमा उभिएर सहयोग पुर्याएको उनको दाबी छ।
गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरी गंगा नगरपालिकाको समग्र चुनावी परिवेश हेर्दा आनन्द बिष्टको पक्षमा जनसमर्थन विस्तार हुँदै गएको स्थानीय विश्लेषण छ। सशक्त संगठन, सक्रिय घरदैलो र मतदातासँगको प्रत्यक्ष सम्बन्धका कारण कैलाली–४ मा नेपाली कांग्रेसले बलियो प्रतिस्पर्धा प्रस्तुत गरेको आकलन गरिएको छ।


































