कैलाली–४ मा स्वतन्त्र उम्मेदवार छत्र भट्टको सचिवालयमा चन्डीराज ढकाल: विकास र रोजगारीका एजेन्डामा बलियो सन्देश

Image
Nisarga Hospital

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा कैलाली क्षेत्र नम्बर ४ को राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकाल बुधबार स्वतन्त्र उम्मेदवार छत्र भट्ट को सचिवालय पुगेका छन्।

CP Hospital Dhangadhi

ढकाल कैलाली आएर भट्टसँग भेटवार्ता गर्नुका साथै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै शुभकामना व्यक्त गरे। उनले भट्टलाई विकासमुखी सोच भएका उम्मेदवारका रूपमा चित्रित गर्दै कैलाली–४ को समग्र समृद्धिका लागि नेतृत्व दिन सक्ने व्यक्तित्व भएको धारणा राखे।

पत्रकारसँग कुरा गर्दै ढकालले भने, “मैले उहाँलाई यो क्षेत्रको विकासका लागि के योजना छ भनेर सोधेको थिएँ। उहाँले प्रस्तुत गर्नुभएका योजनाहरू व्यवहारिक र सम्भावनायुक्त देखिए।” उनका अनुसार कृषि, पर्यटन, उद्यमशीलता तथा रोजगारीका क्षेत्रमा भट्टले ठोस पहल गर्न सक्ने क्षमता राख्छन्।

nawajiwan
Attariya Hospital

ढकालले लामो समयदेखि भट्टलाई नजिकबाट चिनेको उल्लेख गर्दै उनको अन्तर्राष्ट्रिय पहुँच र व्यावसायिक सम्पर्कलाई कैलाली–४ ले सदुपयोग गर्नुपर्ने बताए। “सम्पर्क, समन्वय र दृष्टिकोण भएको नेतृत्वले मात्र क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ,” उनले भने।

उनले कैलाली–४ लाई समृद्धि, लगानी र रोजगारीको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि स्पष्ट रणनीति र प्रभावकारी नेतृत्व आवश्यक रहेको धारणा राखे। देशका केही मन्त्रीहरूले समेत भारतसँग प्रत्यक्ष समन्वय गर्न नसक्ने अवस्थामा भट्टसँग त्यस्तो समन्वय क्षमता रहेको दाबी गर्दै उनले अन्तरदेशीय व्यापार तथा लगानी विस्तारमा त्यसले सकारात्मक प्रभाव पार्न सक्ने बताए।

ढकालको उपस्थितिले कैलाली–४ को चुनावी माहोललाई थप चासो र बहसको विषय बनाएको छ। स्वतन्त्र उम्मेदवार भट्टको सचिवालयमा देखिएको सक्रियता र विकास–केन्द्रित एजेन्डाले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको राजनीतिक विश्लेषकहरूको आकलन छ।