
२१ फागुनको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा चुनावी चहलपहल तीव्र बनेको छ। निर्वाचन कार्यालयहरू अन्तिम तयारीमा जुटेका छन् भने दल र उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन्। प्रदेशभर कुन दलले कति सिट जित्ला भन्ने चासो बढ्दै गएको छ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस प्रदेशको सबैभन्दा ठूलो दल बनेको थियो। उसले गठबन्धनका साथ ९ सिटमा उम्मेदवारी दिँदा ८ सिट जितेको थियो। यसपटक भने कांग्रेस १६ वटै क्षेत्रमा उम्मेदवारसहित मैदानमा छ र कम्तीमा १० सिट जित्ने आन्तरिक दाबी गरिएको छ। कैलाली १, ४ र ५ , कञ्चनपुर १-२, अछाम-२, डडेल्धुरा, बाजुरा, डोटी र बैतडीमा जित सुनिश्चित रहेको नेताहरू बताउँछन्।
यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २०७९ मा दुई सिट मात्र जिते पनि यसपटक १२ सिट जित्ने दाबी गरेको छ। एमालेको आन्तरिक विश्लेषणमा सात सिट सुरक्षित मानिएको छ। कैलाली–२ र ४, कञ्चनपुर–३, अछाम–२, बैतडी, दार्चुला र बझाङलाई बलियो क्षेत्र मानिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७९ मा सुदूरपश्चिममा प्रत्यक्षतर्फ शून्य बनेको थियो। यद्यपि यसपटक केही क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि प्रदेशमा प्रभाव विस्तार गर्ने रणनीति लिएको छ। कञ्चनपुर–२, कैलाली–२, अछाम–२ र बैतडीमा जित्ने आन्तरिक आकलन गरिएको छ।
समग्रमा सुदूरपश्चिममा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ, जसले अन्तिम परिणामलाई थप रोचक बनाएको छ।






























