
पोखरामा रहेको एनसेल सेन्टर पुनःसञ्चालनमा आएको छ। सिर्जना चोकस्थित उक्त सेन्टर जेनजी आन्दोलनका क्रममा तोडफोड भई क्षति पुगेपछि केही समयदेखि बन्द रहेको थियो। मर्मतसंभार सम्पन्न भएपछि बिहीबार आयोजित एक कार्यक्रममार्फत सेन्टर औपचारिक रूपमा पुनःखोलिएको हो।

उद्घाटन कार्यक्रममा एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले संयुक्त रूपमा सेन्टर उद्घाटन गरेका थिए। बन्द अवधिमा कम्पनीले सोही भवनको एक तल्ला माथि रहेको कार्यालयबाट अस्थायी रूपमा सेवा प्रदान गर्दै आएको थियो।

उद्घाटन कार्यक्रममा दाहालले सेन्टर बन्द हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै अब पुनः उच्चस्तरीय सेवा अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताइन्। उनका अनुसार ग्राहकलाई एकै स्थानबाट छिटो, सहज र गुणस्तरीय सेवा दिनु नै कम्पनीको मुख्य उद्देश्य हो।

पुनःसञ्चालित सेन्टरबाट ग्राहकहरूले सिम खरिद, फोरजी तथा ईसिममा अपग्रेड, मोबाइल नम्बर परिवर्तन, इन्टरनेट सेटिङ, अन्तर्राष्ट्रिय रोमिङ, सीयुजी सेवा व्यवस्थापन, बिल भुक्तानी, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफरलगायत सम्पूर्ण ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।
पोखरा सेन्टरको पुनःसञ्चालनसँगै स्थानीय ग्राहकले विश्वस्तरीय सेवा पुनः आफ्नै सहरमा पाउने भएका छन्। हाल एनसेलले देशभर ३१ वटा सेन्टरमार्फत सेवा विस्तार गर्दै ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै आएको जनाएको छ।

































