३७औँ वार्षिकोत्सव सुरु : अत्तरियाको पुष्पाञ्जली विद्यालयमा विद्यार्थी प्रतिभाको उत्सव

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा अवस्थित पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालय मा ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने समारोहको औपचारिक उद्घाटन गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले गरेका हुन्।

CP Hospital Dhangadhi

विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीका अनुसार विद्यार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष वार्षिकोत्सव दुई दिनमा विभाजन गरिएको हो। पहिलो दिन नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ भने दोस्रो दिन कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन्। हाल विद्यालयमा करिब १,१५० विद्यार्थी अध्ययनरत छन्।

वार्षिकोत्सवलाई विद्यार्थीहरूको पर्वका रूपमा लिँदै विद्यालयले नृत्य, गीत, अभिनय लगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत बालबालिकाको प्रतिभा प्रस्फुटन गराएको छ। पहिलो दिन साना कक्षाका विद्यार्थीहरूले मनमोहक प्रस्तुति दिँदा अभिभावकहरू उत्साहित देखिन्थे। विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।

nawajiwan
Attariya Hospital

समारोहको पूर्वसन्ध्यामा विद्यालयले अभिभावकहरूका लागि रमाइला खेलकुद कार्यक्रम पनि आयोजना गरेको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने अभिभावकहरूलाई पुरस्कार प्रदान गरिएको जनाइएको छ।

उद्घाटन समारोहमा बोल्दै शिक्षा शाखा प्रमुख जोशीले वार्षिकोत्सव विद्यार्थी, अभिभावक र विद्यालयबीच आपसी सद्भाव सुदृढ गर्ने अवसर भएको बताए। विद्यालयलाई बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने प्रमुख थलोका रूपमा उल्लेख गर्दै उनले ३७ वर्षको यात्रामा विद्यालयले गरेको योगदानको प्रशंसा गरे।