
पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण एलपी ग्यास आयात प्रभावित भएपछि नेपालमा अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने भएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बिहीबार बसेको निगम सञ्चालन समितिको बैठकले ग्यासको उपलब्धता व्यवस्थापन गर्न यस्तो निर्णय गरेको हो। आयातमा आएको अवरोधका कारण बजारमा ग्यासको आपूर्ति सहज बनाउन अस्थायी रूपमा आधा सिलिन्डर वितरण गर्ने व्यवस्था लागू गरिएको उनले बताए।

यसअघि पनि करिब ६ वर्षअघि नाकाबन्दीको समयमा ग्यास अभाव भएपछि आधा सिलिन्डर बिक्री वितरण गरिएको थियो। निगमले हालको निर्णयलाई आपूर्ति सन्तुलन कायम गर्ने उपायका रूपमा लिएको जनाएको छ।

निगमका अनुसार बजारमा अत्यधिक अभाव हुन नदिन र सबै उपभोक्तासम्म ग्यास पुग्ने सुनिश्चित गर्न यो व्यवस्था लागू गरिएको हो।































