
कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको Lotus Eye English Secondary School ले यस वर्ष एसइई (SEE) परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरूलाई भव्य तथा भावनात्मक बिदाइ कार्यक्रम आयोजना गरेको छ। “फेरी भेटौँला” शीर्षकमा सम्पन्न उक्त कार्यक्रम आँसु, हाँसो र सम्झनाले भरिएको थियो।

विद्यालयले विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिएको हो। बिदाइ समारोहको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक र अभिनय रह्यो, जसमा उनीहरूले विद्यालय जीवनका रमाइला क्षण, शिक्षक–विद्यार्थी सम्बन्ध र कक्षाकोठाका स्मरणीय पलहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति यति भावुक बन्यो कि उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरू समेत भावविभोर बने। लामो समयको सम्बन्ध, मेहनत र सिकाइको यात्रा झल्किने प्रस्तुतिले विद्यालय र विद्यार्थीबीचको आत्मीय सम्बन्धलाई अझ गहिरो बनायो।
कार्यक्रम विद्यालयका म्यानेजिङ डाइरेक्टर ध्रुव कडायतको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा शिक्षक कपिल कडायत तथा विशिष्ट अतिथिका रूपमा प्रिन्सिपल मान बहादुर ऐरको उपस्थिति रहेको थियो। साथै शिक्षकहरू मदनराज भट्ट, दिपेन्द्र गौतमलगायत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
शिक्षकहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूले सिकेका ज्ञान, अनुशासन र संस्कारलाई जीवनभर आत्मसात गर्न आग्रह गरे। उनीहरूले विद्यालयसँगको सम्बन्धलाई सधैं कायम राख्न समेत सुझाव दिए।
विद्यार्थीहरूले पनि आफ्ना गुरुहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्दै कृतज्ञता व्यक्त गरेका थिए। २०५५ सालमा स्थापना भएको यो विद्यालयले आज गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति उत्पादनमा आफ्नो विशेष पहिचान बनाउँदै आएको छ।





























