धनगढीमा महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकता, निःशुल्क एचपीभी डीएनए परीक्षण शिविर सुरु, एकैदिन १६९ महिलाले सेवा लिए

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस वर्ष पनि एचपीभी डीएनए विधिमार्फत पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क शिविर सुरु गरेको छ। ‘प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रम’ अन्तर्गत चौथो वर्ष सञ्चालनमा आएको यो अभियान २०८२ चैत १५ गतेदेखि विभिन्न वडामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको हो।

CP Hospital Dhangadhi

पहिलो दिन वडा नम्बर ७ स्थित बेली शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आयोजित शिविरमा १६९ महिलाले परीक्षण सेवा लिएका छन्। समयमै क्यान्सर पहिचान र रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीय महिलाको उत्साहजनक सहभागिता देखिएको नगरपालिकाले जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार एचपीभी डीएनए परीक्षण आधुनिक, भरपर्दो र प्रभावकारी विधि हो, जसले प्रारम्भिक चरणमै रोग पहिचान गर्न मद्दत गर्छ। नगर कार्यपालिकाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न वडामा सञ्चालन हुनेछ।

nawajiwan
Attariya Hospital

यो कार्यक्रम विशेषगरी ३० वर्षभन्दा माथिका, महिनावारी बन्द नभएका तथा पहिले परीक्षण गराएका महिलालाई लक्षित गरिएको छ। नगर प्रमुख गोपाल हमालले महिलाको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। उनले सबै लक्षित महिलालाई निःशुल्क परीक्षण सेवा लिन आग्रह गरेका छन्।

विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष अझ प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउने लक्ष्य लिइएको छ।