
माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये १६ हजार ३१२ प्राविधिक धारका र २६४ जना पार्सियलतर्फका छन्। परीक्षा सञ्चालनका लागि देशभर २ हजार ३६ केन्द्र तोकिएका छन्।

सुदूरपश्चिम प्रदेशबाट मात्र ५३ हजार ९७३ परीक्षार्थी सहभागी छन्। कैलालीमा सबैभन्दा बढी १८ हजार २७८ विद्यार्थी सहभागी हुँदा कञ्चनपुर, बैतडी, अछाम, डोटी, दार्चुला र बझाङमा पनि उल्लेख्य सहभागिता छ। सबैभन्दा कम बाजुराबाट २ हजार ४२६ परीक्षार्थी छन्। प्रदेशभर २२१ परीक्षा केन्द्रमा जनशक्ति र सुरक्षा व्यवस्था मिलाइएको छ।

कैलालीमा ५५ केन्द्र तोकिँदा गोदावरी नगरपालिकाबाट २ हजार १६७ विद्यार्थी सहभागी छन्। परीक्षा मर्यादित बनाउन आवश्यक तयारी पूरा भइसकेको छ।

यस वर्ष उत्तरपुस्तिका परीक्षा सकिएको तीन दिनभित्र परीक्षण गरी एक महिनाभित्र नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ।






























