
दार्चुलाको विकट व्यास गाउँपालिका–२, दुम्लिङस्थित काठा दुम्लिङमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ नेतृत्वको टोलीले श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। हालै गरिएको स्थलगत निरीक्षणपछि मल्लो दुम्लिङखोलामा पुल निर्माण गर्ने निर्णय गरिएको इन्जिनियर डम्मर लिम्बूले जानकारी दिए।

महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पुल निर्माणका लागि प्राविधिक टोली पुगे पनि अन्तर्राष्ट्रिय सहमति आवश्यक पर्ने भएपछि स्थानीय आवश्यकता अनुसार काठा दुम्लिङमा पुल निर्माण अघि बढाइएको हो। स्थानीयको मागअनुसार विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ।

बर्सातमा खोला तर्न समस्या हुँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै पुल निर्माण आवश्यक भएको व्यास गाउँपालिकाले जनाएको छ। चैत २४ गते साम्पाङकै नेतृत्वमा पुलको शिलान्यास गर्ने तयारी छ।

हालसम्म देश–विदेशबाट १ करोड १२ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ भने असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। करिब ८० मिटर लामो पुलले दुम्लिङ, गोठान र कल्जु गाउँलाई जोड्नेछ। जोखिमपूर्ण तुइन विस्थापित हुने अपेक्षासहित स्थानीयमा उत्साह देखिएको छ।
































