
कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय सभाको दोस्रो बैठकमा तीन प्रमुख माग पेश गर्ने निर्णय गरेको छ। समितिको आज अत्तरियामा बसेको बैठकले शिक्षा मन्त्रीको उपस्थितिमा चैत्र २५ गते बस्ने सभामा ती मागहरू प्रस्तुत गर्ने निर्णय गरेको हो।

समितिका अनुसार आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने मुख्य माग राखिनेछ। साथै विश्वविद्यालय परिसरभित्र शहीद दशरथ चन्द पार्क निर्माणका लागि १० कठ्ठा जग्गा सुनिश्चित गर्नुपर्ने माग पनि समावेश गरिएको छ।


त्यस्तै, स्थानीय स्वायत्त ऐनअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीमा स्थानीय बासिन्दाका लागि निश्चित कोटा निर्धारण गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार विश्वविद्यालयको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै जग्गा अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गरी थप २० बिघा जग्गा प्राप्तीका लागि पहल गर्ने निर्णय गरिएको छ।
बैठकले विश्वविद्यालयका उपकुलपति र रजिस्टारसँग समेत छलफल गर्ने निर्णय गरेको छ। यसअघि विश्वविद्यालय सभाको पहिलो बैठक गत असोजमा तत्कालीन शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको थियो।































