कैलालीको गेटामा आगामी सत्रदेखि चिकित्सा शिक्षा सञ्चालन, MBBS सहित ४ बिधामा पढाइ सुरु हुने

Image
Nisarga Hospital

कैलालीको गोदावरी–५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि औपचारिक रूपमा पठनपाठन सुरु हुने भएको छ। शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले सम्पूर्ण आवश्यक तयारी पूरा गरी अध्यापन सुरु गर्ने ऐतिहासिक निर्णय गरेको हो। यो निर्णयसँगै सुदूरपश्चिममा चिकित्सा शिक्षाको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

उपकुलपति प्रा. डा. सुनीलकुमार जोशीका अनुसार विश्वविद्यालयले अध्यापन सञ्चालनका लागि झण्डै एक दर्जन नियमावली तयार गरिसकेको छ, जसलाई छिट्टै पारित गरिनेछ। पहिलो चरणमा एमबीबीएस, बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गरिनेछ। प्रस्तावअनुसार एमबीबीएसमा ५०, नर्सिङमा ३०, एमएलटीमा २० र अप्टोमेट्रीमा २० गरी विद्यार्थी भर्ना गरिने तयारी छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ। साथै, चालु आर्थिक वर्षको जेठ–असार अवधिका लागि चिकित्सकहरूको तलब भुक्तानी गर्न ५ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। आगामी आर्थिक वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ।

विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताललाई हालको १०० शय्याबाट ३०० शय्यामा स्तरोन्नति गर्ने योजना पनि अघि बढाइएको छ। सिनेट बैठकले थप चार जना सदस्य मनोनीत गरे पनि नाम सार्वजनिक गरिएको छैन।

यसपटकको बैठक पहिलोपटक संघीय राजधानी बाहिर कैलालीको गेटामा आयोजना गरिएको हो। ऐनअनुसार विश्वविद्यालय सभा सर्वोच्च निकाय हो, जसमा शिक्षामन्त्री अध्यक्ष रहने व्यवस्था छ भने स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ।

यस निर्णयसँगै नगर प्रमुख सिनेट सदस्य भएको खुसीयालीमा स्थानीय, नगरवासी तथा सम्पूर्ण सुदूरपश्चिमेलीमा गर्व र उत्साहको वातावरण छाएको छ।

यस निर्णयसँगै गेटा क्षेत्रमा चिकित्सा शिक्षाको औपचारिक सुरुवातको बाटो खुलेको छ। विश्वविद्यालयले आवश्यक पूर्वाधार र शैक्षिक तयारीलाई तीव्रता दिने जनाएको छ।

Dhnagadhi & Krishanapur