
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले आफू र परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने चर्चाप्रति स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आएको जानकारीप्रति प्रतिक्रिया दिँदै उक्त प्रचार भ्रामक र आधारहीन भएको बताएका छन्।

देउवाले प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको विवरण सम्बन्धित निकायमा बुझाइएको स्पष्ट पारेका छन्। उनले लोकतान्त्रिक प्रणाली, विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो प्रतिबद्धता निरन्तर रहेको उल्लेख गरेका छन्।

उनले भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा आफ्नो योगदान स्मरण गर्दै गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा ल्याउन भूमिका खेलेको बताएका छन्।

हाल उपचारका लागि विदेशमा रहेका देउवाले वास्तविकता समयक्रमसँगै स्पष्ट हुने बताउँदै अतिरञ्जित समाचारमा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।































